भुम्दीकोटको चिनारी
प्राकृतिक सम्पदाले भरिपूर्ण थाप्ले पहाडको छहारीमा अन्नपूर्ण हिमशृङ्खलाको स्वच्छ पवनको सितलतामा बरह बज्यैको न्यानो आँचलमार रिद्ध बाजेको काखमा अवस्थित सुन्दर एवम् मनमोहक गाउँ भुम्दी । भूमि देवदेवताहरुको घ्ही (घर) भूमि + व्ही हो भुम्दी गाउँ ।
भुम्दीकोट बासीहरुको शिरको कपाल र कपाल (शिर) भित्रको मस्तिष्क भौ भुम्दी गाउँ माथिको हरियो घना जङ्गल र जङ्गलभित्र मस्तिष्कको रुपमा रहेको बरह बज्यैको थान, सम्पूर्ण भुम्दीकोट वासीहरुको आस्थाको देवी बरह बज्यैको सधैं भुम्दीकोट वासीहरुमा आशीर्वाद रहने अटुट विश्वास रहेको छ।
भुम्दीकोट बासीहरुमा अचानक कुनै विपद, घटना दुर्घटना आइपरेको अवस्थामा हरेकको मुक्तकण्ठमा जसरी आमा भन्ने शब्द उच्चारण हुन्छ त्यसैगरी बरह बज्यैको नाम पुकार गर्ने गर्दछन् । बरह बज्यैलाई सम्पूर्ण भुम्दीकोट बासीहरुले संरक्षक आमाको रूपमा मान्दछन् र दुःख हरण गर्ने, शुभ साइत प्रदान गर्ने, रोग हरण गर्ने र हरदम आफ्नो साथ दिने आस्थाकी देवी आमाको रूपमा मान्दछन् । बरह बज्यैको मन्दिर परिसरमा भुम्दीकोट बासीहरुले बडा दशैं र चैत्र दशैँको अवसरमा सर-सफाइ, रङ्गरोगन र पूजा अर्चना गर्ने गर्दछन् । बरह बज्यैको थान परिसरमा भएको घना जलको पात पतिङ्गरसमेत उठाएर घर गाउँमा ल्याउने गर्दैनन्, जङ्गलभित्र आश्रित विभिन्न बनजन्तुहरू र चराचुरुङ्गीहरुको संरक्षण गर्ने दायित्वसमेत भुम्दीकोट वासीहरुले गर्ने गर्दछन्। आयाकी देवी भुम्दीकोट बरह बज्यैको थान (मन्दिर) वरिपरि रहेको घना जङ्गगलमा भुम्दीकोट क्षेत्रन्दा बाहिरी गाउँ ठाउँबाट आएका व्यक्तिहरु इजाजत बिना प्रवेश गरेको अशुभ मान्ने प्रचलन रही आएको छ । शुद्ध मनले श्रद्धासाथ वरह बज्यैको दर्शन र पूजा अर्चना गरेमा मनले चिताएको वर पूरा (प्राप्त) हुन्छ भन्ने यस भेगका सम्पूर्ण वासीहरुको स्वीकारपूर्ण भनाइहरु रहेका छन् । बरह बज्यैको थान छेउमा शुद्ध जलले भरिएको पवित्र कुण्ड (पोखरी) रहेको छ । बरह बज्यैले स्नान गर्ने र बरह थान परिसरको घना जङ्गगलमा रहेका वन्यजन्तुहरू र चराचुरुङ्गीहरुको प्यास मेटाउने र स्नान गर्ने उक्त कुण्ड (पोखरी) ले मन्दिर परिसरलाई शोभायमान तुल्याएको छ।
धार्मिक पुण्य भूमि भुम्दीकोटका आस्थाकी देवी बरह बज्यैको बारेमा रहेको जनश्रुति पूर्वजहरुको मुक्तकण्ठबाट निर्गुण, भजनको रूपमा र कथा कहानीको रूपमा सुन्दै आइरहेका छन्।
परापूर्वकालमा बरह थानको पश्चिम उत्तरमा उपत्यकाको रूपमा रहेको ठूलो फराकिलो जमिन (जसलाई पोखरी खाल्टो भनिन्छ) मा बरह बज्यैको श्री सम्पत्ति एवम् सन्ततिको रूपमा पानीले भरिएको ताल थियो रे । उक्त तालको संरक्षण सम्वर्द्धन बरह बाजेबाट नै हुने गरिन्थ्यो रे। सो उपत्यकाको पूर्व अलि माथि रहेको ठूलो ढुङ्गा (उक्त स्थानमा अझै पनि सो ढुङ्गा रहेको छ) को मुनिबाट पानीको मूल अथवा मुहान थियो रे र प्रशस्त पानी निस्कन्थ्यो रे । बाह्रै मासे पानीले भरिने पवित्र जलकुण्डको जल स्वारी बरह देवताको पूजा अर्चना, दर्शन तथा आफ्नो दुःख कष्ट हरण गरि दिने छ भन्ने अभिगा लिई आशीर्वाद एवम् वरदान प्राप्त गर्न भुम्दीकोट बासीहरु र वरपरको वासिन्दाहरु आउने गर्दछ रे ।
एक समय फेवातालमा अवस्थित बरह छोरी माग्न भुम्दीकोट बरह बाजेको सामु भुम्दीमा गएको थियो रे र भुम्दीकोट बरह बाजेले छोरी दिन उचित नठानेको कारण दुबै वरहहरुबिच घमासान युद्ध भयो रे र युद्धमा फेवातालको बरहको जित भएको कारण सन्ततिको रूपमा रहेको तालको सम्पूर्ण पानी उत्तर पश्चिम छेउको डाँडालाई काटेर लगेको जनश्रुतिहरु बुढापाकाहरुले सुनाउने गर्दथे । वरिपरि डाँडा र उत्तरी पश्चिम छेउमा डाँडालाई काटेको जस्तै गहिरो भागबाट बगेको पानी घट्टेखोला, म्हार्से खोला हुँदै फेवातालमा मिसिन्छ। उक्त जलकुण्ड (ताल) रहेको स्थान उपत्यकाको रूपमा रहेको छ र उक्त उपत्यकामा भुम्दीकोट बासीहरुले खेतीबारीको रूपमा उपयोग गरिरहेका छन्। भुम्दीकोट बासीहरुले बडा दशैँको पूर्णिमाको दिन र चैत्र दशैँको पूर्णिमाको दिन शुद्ध दुधको खीर, सेतो पुष्प, सेतो अक्षता, सेता धजा र घण्टीहरु चढाइ वरह बज्यैको पूजा अर्चना गर्ने गर्दछन्। यसरी धार्मिक महत्वका अलिखित इतिहास बोकेको भुम्दीकोट क्षेत्रको व्यापक प्रचारप्रसार गरी ओझेलमा रहेको भुम्दीकोट क्षेत्रको पहिचान उजागर गर्न सम्पूर्ण भुम्दीकोट
बासीहरुको जिम्मेवारी रहेको छ ।
जन्मपछि मृत्यु वरण गर्ने प्राकृतिक नियम हो । मृत्युपछि वरह बज्यैको काख पाउन भनी सम्पूर्ण भुम्दीकोट वासीहरुले कामना गर्ने गर्दछन् । यसै कारण वरह बज्यैको थान (मन्दिर) को नजिक पश्चिम उत्तरमा सम्पूर्ण भुम्दीकोट बासीहरुको दिवङ्गत पितृहरूको मन्दिर (सिल्दु थान) रहेको छ र स्वर्गारोहण पछि सबै पितृहरू बरह बज्यैको काखमा यही सिल्दु थानमा रहेको सबै भुम्दीकोट बासीहरुले विश्वास गर्दछन् । बडा दशैंको पूर्णिमाको दिन र चैत्र दशैंको पूर्णिमाका दिन वर्षको दुई पटक सिल्दु बाजेको मन्दिर परिसरमा सरसफाइ, रङ्गरोगन गरी पूजा अर्चना गर्ने गर्दछन् । शुद्ध दुधबाट खीर बनाइ माछा चढाइ, धूप अक्षता फूल, धजाहरु चढाइ पितृहरूको नाउँमा यही सिल्दु थानमा पूजा अर्चना गर्ने गर्दछन्।
सिद्ध बाजेको थान र उक्त थान भएको डाँडाले पनि भुम्दीकोटको प्राकृतिक सौन्दर्यता बढाउने र भुम्दीकोट वरपरको अनुपम दृश्यहरु अवलोकन गर्न सकिने स्थान रहेको छ। आस्थाको देवको रूपमा मानी आएको सिद्ध बाजेको मन्दिर (सिद्ध थान) थाप्ले पहाडको टुप्पोबाट भुम्दी तजिकको डाँडामा ल्याई धार्मिक अनुष्ठान गरी प्रतिस्थापन गरिएको भनाइ पूर्वजहरुबाट जानकारी भएको अलिखित इतिहास छ। दुःख कष्ट, प्रकोप हुनबाट सुरक्षा प्रदान, भुम्दीकोट क्षेत्रको संरक्षण र भुम्दीकोट बासीहरुको मनोकामना पूरा गर्दछन् भन्ने पूर्ण विश्वासमा रहेका भुम्दीकोट बासीहरुले बडा दशैं र चैत्र दशैंमा सिद्ध बाजेको मन्दिरमा सर-सफाइ र रङ्गरोगन गरी भव्य पूजा अर्चना गर्ने गर्दछन्। वन पाखा घाँस, दाउरा गर्न दा वा कही कतै यात्रामा जानु पर्दा शुभ साइत राम्रो होस् भनी सिद्ध थानमा फूल, अक्षता, पानी र ढुङ्गासमेत चढाउने प्रचलन रही आएको छ। बडा दशैं र चैत्र दशैं पछिको पूर्णिमाको दिन एक सीध (वर्षको दुईपटक) बरह बज्यै, सिद्ध बाजे र सिल्दु बाजेको थानमा भव्य पूजा अर्चना गर्ने गर्दछ । पूर्णिमामा गरिने पूजा अर्चनाको निम्ति अघिल्लो दिनको साँझ सम्पूर्ण भुम्दीकोट बासीहरु भेला भई बरह बज्यै, सिद्ध बाजे र सिल्दु बाजेलाई गाउँको वयोवृद्धले चोखो निष्ठ भई बोलाउने अर्थात् पूजामा आमन्त्रण गर्ने चलनसमेत रही आएको छ। पूर्णिमाको विहान सम्पूर्ण भुम्दीकोट बासीहरुले हरेक घर परिवारबाट दान दक्षिणा, धुप अक्षता आदि स्वीउरा उठाउने गरिन्छ र दिउँसोमा हुने पूजा अर्चनाको लागि गाउँबासीहरु इच्छानुसार यी तीन मन्दिरहरूमा पूजाको लागि छुट्टिन्छन् । एउटा मन्दिरमा पूजा अर्चनाको लागि समावेश भएको व्यक्ति अर्को थानमा पूजा गर्न (सोही दिन) समावेश हुनु हुदैन भन्ने भनाइ (नियम) रहेको छ। सिद्ध बाजेको पूजा अर्चनामा धूप, अक्षता, घण्टी, धजाहरु चढाउने गरिन्छ र सामूहिक रूपमा एउटा भेडा
चढाइन्छ ।
परापूर्वकालमा एक समय भुम्दीकोट क्षेत्रमा जङ्गली ब्वाँसोहरूले धेरै दुःख दिने गरेको थियो मेरे । गाउँ बासीहरुको पाल्तु जनावर गाई, भैंसी, गोरुहरुको आन्द्रा नै झिकेर जङ्गली ब्वाँसोहरूले मारिदिने गरेको थियो रे । उक्त ब्वाँसोहरूको प्रकोपबाट मुक्ति प्राप्त गर्न सबै गाउँलेहरू मिली थामाको डाँडामा राम लक्ष्मणको मन्दिर स्थापना गरी भव्य पूजा अर्चना गरिएको थियो रे । उक्त पूजा अर्चना पछि ब्वाँसोहरूको बिगबिगीबाट भुम्दीकोट बासीहरुले मुक्ति पाए रे भन्ने भनाइहरु पुर्खाहरूबाट सुन्ने गरिएको यो अलिखित इतिहास रहेको छ।
गुरुङ जातिको बाहुल्यता रहेको भुम्दीकोट क्षेत्रमा बाहुन, क्षेत्री, मगर, कामी, दमैं, सार्की आदि जातजातिहरुको साझा फुलबारीको रूपमा बसोबास रहेको छ । आपसी सद्भाव, सदाचार र सहयोगी भावनाले मिलेर बसोबास गर्दै आएका यी मिश्रित जात-जातिहरुमा आ-आफ्ना धार्मिक र, जातीय संस्कृति र परम्परालाई सबैले आत्मसात गरी मिलेर निभाउने गरिन्छ।
संस्कार
सुरुमा भुम्दी पञ्चायत अनि पुम्दी भुम्दी गाउँ पञ्चायत त्यसपछि पुम्दी भुम्दी गाउँ विकास समिति हुँदै पोखरा उपमहानगरपालिका वडा नं. २५ हुन पुगेको भुम्दीकोट अहिले पोखरा महानगरपालिका वडा नं. २२ भएको छ । पोखरा महानगरपालिका भित्रका वडाहरुमा भइरहेका विभिन्न विकासको कार्यहरूमा ओझेलमा परेको वडा नं. २२ को भुम्दीकोट क्षेत्रमा गाउँघरतर्फ कोरिएको कच्ची बाटो कास्की जिल्लाकै जेठो कच्ची बाटो भइकन पनि अझ सम्म अलकत्रे बाटो। बन्न सकिरहेको छैन तापनि पोखरा पृथ्वीचोकबाट सिद्धार्थ राजमार्ग हुँदै १५।२० मिनेटमा तिलहर (करकले) सम्म आएपछि २५/३० मिनेटमा कच्ची बाटो हुँदै भुम्दीकोट पुग्न सकिन्छ । बिहान ६ बजेबाट बेलुका सम्म पृथ्वीचोकबाट भुम्दीकोट जान आउन दिन भरि जस्तै नगर बसहरू गुडिरहन्छन्। गाउँमा उत्पादित वस्तुहरू बजारसम्म पुऱ्याई आय-आर्जन गर्न सहज भएको छ भने गाउँबाटै उच्च शिक्षा अध्ययन गर्न पोखरा बजारका राम्रा क्याम्पसहरूसम्म जान र आउन समेत सहज भएको छ।
भुम्दीकोटको डाँडाकाँडाबाट पोखरा बजार, फेवाताल, पन्चासे पहाड र माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलाको अनुपम दृश्यहरु अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ नुवाकोट, स्याङ्जा बजारको पनि दृश्य अवलोकन गर्न सकिन्छ। हिमालयको चिसो हावाको आनन्द प्राप्त गर्न, लाली गुराँसका फूलहरुसँग झुम्मिन, ठाडो भाका, तेर्सो भाका, निर्गुण, भजन जस्ता परम्परागत गीतहरुबाट रम्मिन गाउँघर मै उत्पादित अर्गानिक वस्तुहरूबाट भोक मेटाउन भुम्दीकोटमा रहेका व्यवस्थित होमस्टे (Home Stay) आन्तरिक तथा बाह्य पर्यटकहरुको पर्खाइमा रहेको छ। पोखरा बजारबाट पन्चासे जाने पर्यटकहरुको पद मार्गको पहिलो ढोकाको रूपमा रहेको भुम्दीकोटमा पर्यटकहरुको पहिलो बिसौनी भइरहेको छ । पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना रहेको भुम्दीकोट पोखरा महानगर पालिकाको वडा नं. २२ भए तापनि महानगरपालिकाको सेवा सुधिवाबाट वञ्चित रहेको छ । सजग र सामर्थ्य भएका भुम्दीकोटका बासीहरुले गाउँघर छोडी सुविधा सम्पन भइरहेका छन् । “गाउँलाई फर्केर हेर आफ्नो गाउँ मिलेर बनाऊ” भन्ने नारा लिई २०५८ सालमा बजारहरूमा भएको बसाइँसराइँले भुम्दीकोटको विभिन्न पक्षको विकासमा अड्चन र ढिलाइ स्थापना भएको भुम्दीकोट समाज पोखराको गठन पछि गाउँको विकासको लागि इटाहरु थप्ने र १ रहने क्रम बढिरहेको छ । विश्वको विभिन्न देशहरुमा पेसा, व्यापार व्यवसाय, नोकरी आदि गरी विकासको चिन्तन मनन गरी विकासमा सहयोगी भूमिकाहरु निभाइ रहेका छन् ।
श्री कृष्णबहादुर गुरुङ (किन्जा)
संस्थापक सचिव
भुम्दीकोट समाज, पोखरा

